नेपाल वायुसेवा निगमको बोइङ ‘गण्डकी’ मङ्गलबार नेपाल ल्याइने

काठमाण्डौ – मर्मतका लागि ५८ दिनदेखि मलेसियामा रहेको नेपाल वायुसेवा निगमको बोइङ ‘गण्डकी’ भोलि मङ्गलबार नेपाल ल्याइने भएको छ । 

निगमको इञ्जिनियरिङ विभागले कलसाइन नाइनएन एसिबी ७५७ बोइङको थर्मल ब्ल्याङ्केटमा समस्या आएको भन्दै मर्मतका लागि क्वालालम्पुर पठाएको थियो । मर्मतका क्रममा सि–डक्टमा पनि समस्या आएपछि मर्मतका लागि थप समय लागेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिनुभयो ।  

उहाँका अनुसार बोइङ ल्याउन चालक दलका सदस्य (क्रू मेम्बर) हिजो आइतबार मलेसिया गएका छन् । अमेरिकाबाट सिपिङमार्फत सि–डक्ट ल्याएर जडान गर्दा फिट नभएपछि गएको साता मलेसियामा पुनः अर्को सि–डक्ट ल्याएर फिट गरिएको थियो । 

‘बोइङको पुरै मर्मत भइसकेको छ, सि–डक्ट पनि परिवर्तन गर्नुपर्ने भएकाले मर्मतका लागि बढी समय लागेको हो, बोइङ भोलि नेपाल फर्किंदैछ’, सहायक प्रवक्ता कोइरालाले भन्नुभयो । 

निगमले उक्त बोइङ बिक्री गर्ने तयारी गरेको छ । बिक्री नभइन्जेल उडान गर्ने योजना बनाएको छ । जहाज बिक्रीका लागि निगमले मूल्य निर्धारण गरी कागजात मन्त्रालय पठाएको छ । वाइड बडी विमान खरिद प्रकरणको विषयले जहाज बिक्रीमा पनि कठिनाइ भएको निगमका अधिकारी बताउँछन् । 

सोमवार, पुस ३०, २०७५ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री