चितवन राष्ट्रिय निकुन्जमा प्लास्टिक प्रतिबन्ध

ssapana44@gmail.com' jamuna aryal
३० पुष २०७५, सोमबार १२:१९

चितवन – चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकले अब प्लास्टिकका झोला ल्याउन नपाउने भएका छन्। फोहोर समस्या हटाउन निकुञ्जलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिएको हो। यहाँ आउने पर्यटकले अब प्लास्टिकको सट्टा कपडाको झोला बोक्नुपर्ने हुन्छ।

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गोपालबहादुर घिमिरेका अनुसार पर्यटकले लिएर आउने प्लास्टिकका झोला तथा बोतल निकुञ्जभित्रै फालेर जाने गरेका कारण फोहोर बढेकाले यस्तो नियम लगाइएको हो। यही पुस १७ गतेदेखि निकुञ्जलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिएको उनले जानकारी दिए। ‘भित्र लगिएका पानीका बोतलहरू फिर्ता ल्याएर काउन्टरमा बुझाउने नियम लागू गरिएको छ,’ उनले भने, ‘निकुञ्जभित्र छिर्नुअघि झोलाको जाँच र पानीका बोतल इन्ट्री गर्ने व्यवस्था गरेका छौं।’ भित्र फोहोर नहोस् भनेर फर्किंदा बुझाउनुपर्ने नियम लागू गरिएको संरक्षण अधिकृत घिमिरेले बताए।

दुई वर्षदेखि निकुञ्ज कार्यालयले प्लास्टिक न्यूनीकरण अभियान सञ्चालन गरेको प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए। घुम्न आउने पर्यटकले मात्र होइन, निकुञ्जभित्र बस्ने नेपाली सेना, कर्मचारीले पनि प्लास्टिकका झोला, खानेकुराका प्याकेट, खोललगायतका सामग्री जथाभाबी फाल्न नपाउने उनले बताए। निकुञ्जभित्र सुरक्षाका लागि सेनाका ५० वटा पोस्ट राखिएका छन्। त्यहाँ बस्ने सेनालाई पनि प्लास्टिकका झोलाको विकल्पमा कपडाका झोला प्रयोग गर्न लगाइएको उनले जानकारी दिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१