विद्युत् प्राधिकरणको नयाँ व्यवस्था : सात दिनभित्रै नयाँ मिटर

ssapana44@gmail.com' jamuna aryal
२६ पुष २०७५, बिहीबार १४:३८

प्राधिकरणले ‘सिङ्गल फेज’को नयाँ मिटर सात दिनभित्रमा जडान गरिदिन र उपभोक्तालाई कुनै पनि प्रकारको दुःख नदिन निर्देशन दिएको छ ।

प्राधिकरणले प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी बनाउन सिङ्गल फेजको मिटरका लागि निवेदन दिने ग्राहकको मिटर सात दिनभित्रमा जडान गरिदिने प्रतिबद्धतासमेत जनाएको छ । कहीँ कतै त्यस्तो व्यवस्था लागू नभएको पाइए कार्यकारी निर्देशक तथा क्षेत्रीय कार्यालयका प्रमुखलाई सम्पर्क गर्नसमेत प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ । 

प्राधिकरणका अधिकांश घरायसी ग्राहकले सिङ्गल फेज मिटर प्रयोग गर्छन् । यसैगरी, थ्रि फेज र उद्योग तथा प्रतिष्ठानमा प्रयोग हुने ‘टिओडी’ नयाँ मिटर क्रमश ः १५ र ३० दिनभित्र उपलब्ध मात्रै गर्नेछैन, जडान नै गरिदिनुपर्ने व्यवस्था गरिएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

ग्राहकलाई प्रवाह गर्ने सेवालाई अझै प्रभावकारी बनाउन र कार्यालय प्रमुख तथा कर्मचारीलाई अझै जिम्मेवार बनाउन यस्तो व्यवस्था गरिएको उनको भनाइ छ । 

मुलुकभर विद्युत्भार कटौतीको अन्त्यपछि प्राधिकरण विद्युत् चुहावट घटाउने, प्रशासनिक खर्च घटाउने, बाँकी बक्यौता असुल गर्ने, स्तरीय, भरपर्दो तथा सुरक्षित विद्युत् सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तरवृद्धि गर्ने, निर्माणाधीन जलविद्युत् तथा प्रसारण लाइनको निर्माणलाई तीव्रता दिनेलगायतका काममा केन्द्रित भएको छ । 

चुहावट नियन्त्रणका लागि प्राधिकरणले चोरी नियन्त्रण गर्ने र महसुल बक्यौता असुलीमा कडाइ गर्दै आएको छ । यस्तै प्राविधिक चुहावट नियन्त्रण गर्न काठमाडौँ उपत्यका र प्रमुख शहरी क्षेत्रमा पाँच हजार नयाँ ट्रान्सफर्मर जडान गर्ने कार्यलाई प्रमुख प्राथमिकतामा राखिएको छ । 

यस्तै वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरणको काम पनि अगाडि बढाइएको छ । सेवा सुधारका लागि ग्राहक सेवासम्बन्धी प्रतिबद्धता हरेक कार्यालयमा टाँसी सोहीअनुसारको काम गर्ने व्यवस्थासमेत मिलाइएको छ । 

नयाँ मिटर जडानमा समस्या रहेको र कर्मचारीले अनावश्यक दुःख दिने गरेको तथा घुस मागेको र घुस माग्दामाग्दै प्राधिकरणका कर्मचारी समेत पक्राउ पर्न थालेपछि प्राधिकरणले नयाँ व्यवस्था गरेको हो । 

प्राधिकरणले ग्राहक तथा वितरण केन्द्रले कार्यसम्पादन अवधिसहितको प्रतिबद्धता पत्र फ्लेक्समा प्रिन्ट गरी सबैले देख्ने ठाउँमा राख्ने व्यवस्थासमेत मिलाएको छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१