संसद् पदाधिकारीलाई आठ करोडका गाडी

ssapana44@gmail.com' jamuna aryal
२३ पुष २०७५, सोमबार १३:४१

रुपन्देही – प्रदेशसभा सचिवालयले संसद् पदाधिकारीका लागि आठ करोड रुपैयाँमा १३ वटा गाडी खरिद गरेको छ। सभामुख, उपसभामुख, विभिन्न विषयगत समितिका सभापति तथा सत्तापक्ष र प्रतिपक्षका सचेतकका लागि गाडी खरिद गरिएको हो।

अहिले उनीहरू नयाँ र चिल्ला महँगा गाडीमा हुइँकिरहेका छन्। अरूबेला विभिन्न मुद्दामा विरोधको स्वर उराल्ने गरे पनि सेवासुविधा लिने सबालमा भने प्रतिपक्ष पनि सत्तापक्षसँगै उभिएको छ। गाडी खरिदमा प्रदेशसभाले सात करोड ९१ लख ४४ हजार रुपैयाँ खर्च गरेको छ। १३ मध्ये ११ वटा गाडी टाटा कम्पनीको सफारी स्ट्रोम भिएक्स छन्। बाँकी दुईटामध्ये एउटा निसान टेरानो र अर्को महेन्द्रा स्कार्पियो छन्। भदौ २६ गते प्रदेससभा सचिवालयले विभिन्न प्रकृतिका १४ वटा गाडी किन्न बोलपत्र आह्वान गरेको थियो। बोलपत्रअनुसार १४ वटा गाडी किनिए पनि सभामुख पूर्ण घर्तीले मन नपराएपछि एउटा फिर्ता गरिएको स्रोतले बतायो। किनिएका ती गाडी उपसभामुख, विषयगत छ वटा समितिका सभापति, सत्तापक्ष र प्रतिपक्षका सचेतक तथा सचिवले प्रयोग गरेका छन्।

बजार मूल्यभन्दा महँगोमा खरिद
प्रदेशसभाले खरिद गरेका टाटा कम्पनीका सफारी स्ट्रोम भिएक्स गाडीहरू महँगो मानिन्छन्। प्रदेशसभाका अनुसार टाटा सफारी स्ट्रोम भिएक्स एउटा गाडीलाई ७१ लाख ९४ हजार रुपैयाँ तिरिएको छ। निसान टेरानो ५३ लाख ९५ हजार र महेन्द्रा स्कार्पियो ३५ लाख ८५ हजार रुपैयाँमा खरिद गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

सचिवालयले बजार मूल्यभन्दा बढी तिरेर गाडी किनेको भन्दै सत्तापक्षबाटै आलोचना गरिएको छ। प्रदेश ५ मा नेकपा नेतृत्वमा सरकार छ। सरकारको नेतृत्व शंकर पोखरेलले गरेका छन्। गाडी किन्दा आर्थिक घोटाला भएको स्रोतको दाबी छ। तर प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले ई–बिडिङमार्फत खरिद गरिएकाले कुनै पनि चलखेल नभएको बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१