यो वर्ष धान उत्पादनमा वृद्धि

ssapana44@gmail.com' jamuna aryal
१२ पुष २०७५, बिहीबार १६:२१

काठमाण्डौँ । यो वर्ष धान उत्पादन बढेको छ  । गत वर्षको तुलनामा ८.८९ प्रतिशतले वृद्धि हुँदै ५६ लाख १० हजार टन धान फलेको छ । बुधबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्ष धानको उत्पादकत्व ३.५१ टन प्रतिहेक्टरबाट ७.२७ प्रतिशतले बढेर यो वर्ष ३.७६ टन प्रतिहेक्टर पुगेको छ ।

विगत वर्षजस्तै यो वर्ष पनि मौसम अनुकुल हुनु नै धानको उत्पादन वृद्धिको मूल कारण हो । मन्त्रालयका सचिव डा. युवकध्वज जीसीले समयमा मलखाद पुगेको, वर्णशंकर जानका धान खेती बढेको र गत वर्षको तुलनामा रोपाइँँ प्रतिशत बढेसँग प्रकृतिले साथ दिँदा उत्पादन बढेको बताए । “हामीसँग भएको रोपाइँ हुने जमिन बढेको छैन तर गत वर्ष रोपाइँ हुन नसकेको क्षेत्रमा पनि रोपाइँ हुँदा यो वर्ष ९७ प्रतिशत रोपाइँ भएको थियो,” उनले भने, “हामीले जतिसक्दो मानवीय बल गरे पनि आवश्यक समयमै वर्षा हुनु र गत वर्षजस्तो प्राकृतिक प्रकोप यो वर्ष नपरेकाले उत्पादन लक्ष्यअनुसार भएको हो ।”

उनले कम्तिमा ६० प्रतिशत धानखेतमा नियमित सिँचाइ पु¥याउन सके परम्परागत धानको बीउको प्रयोगले नै धान निर्यात गर्ने अवस्था अहिले सिर्जना हुने बताए । मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका ७ वटा जोन र ३ सुपरजोनबाट वृहतरूपमा कार्यक्रम सञ्चालन हुनुलाई पनि उत्पादन वृद्धिको कारण मानेको छ । गत वर्ष प्राकृतिक प्रकोपको नकारात्मक प्रभावका बाबजुद पनि ५१ लाख ५१ हजार टन धान उत्पादन भएको थियो । यो वर्ष सबैभन्दा बढी प्रदेश २ मा १४ लाख ९५ हजार टन धान फलेको छ भने प्रदेश १ मा १२ लाख ३७ हजार र प्रदेश ५ मा ११ लाख ८८ हजार टन धान फलेको छ । सुदुरपश्चिम प्रदेश, प्रदेश ३, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा क्रमशः ६ लाख ६ हजार टन, ५ लाख २१ हजार टन, ४ लाख २७ हजार टन र १ लाख ३३ हजार टन धान फलेको छ । 

यो वर्षदेखि चैते धान पनि ७७ वटै जिल्लामा उत्पादन, उत्पादकत्व र क्षेत्रफलको तथ्यांक राख्न थालिएको मन्त्रालयले जनाएको छ । कृषि ज्ञान केन्द्रहरूको स्थापना ढिला हुनु र कृषिको जिल्ला  कार्यालयहरू बन्द भइसकेकाले तथ्यांक संकलन चुनौतीपूर्ण बनेको प्रवक्ता तेजबहादुर सुवेदीले बताए । मन्त्रालयका अनुसार चौधौं योजनाअनुसार धानको लक्ष्य पूरा भएको छ ।  यो वर्षको उत्पादन हालसम्मकै बढीसमेत हो । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१